World

कोभिड-१९ बाट पाँच लाख जनाको मृत्यु, दक्षिण एशिया र अफ्रिकामा पनि स्वास्थ्य संकट गहिरिदैं

Mon Jun 29

विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । अमेरिका स्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी युरोप र अमेरिकाका रहेका छन् । गत वर्षको अन्त्यतिर चीनमा देखिएको भाइरसबाट १ लाख बढी संक्रमित भएका थिए । चीनबाट अन्यत्र फैलिएपछि कोरोनाबाट हुने क्षति पनि निकै बढेको छ । विश्वको आधाभन्दा बढी संक्रमण संयुक्त राज्य अमेरिका र युरोपमा देखिएको छ । पछिल्लो समय अमेरिका महादेशभरि नै यसको संक्रमण बढ्दो क्रममा रहेको छ । कोरोना भाइरसबाट दक्षिण एसिया र अफ्रिका पनि प्रभावित छन् । दक्षिण एसियामा भारत कोरोनाको हटस्पट बनिरहेको छ । भारतमा एकै दिनमा झण्डै २० हजारका दरले संक्रमित थपिरहेका छन् । भारतको राजधानी नयाँ दिल्ली शहरमा मात्रै ७७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । पछिल्लो समय दिल्ली भारतको ठूलो कोरोना हटस्पट बनिरहेको विज्ञहरुले बताएका छन् । विश्वमा भारत संक्रमितको संख्याका आधारमा चौथो नम्बरमा रहेको छ । भारतमा हालसम्म ५ लाख २८ हजारभन्दा बढी संक्रमित भेटिसकेका छन् । विश्वमै बढी संक्रमित रहेको मुलुक संयुक्त राज्य अमेरिकामा हालसम्म २५ लाख ४४ हजारभन्दा बढी संक्रमित रहेका छन् । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी छ । अमेरिकामा हालसम्म १ लाख २५ हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । यसै गरी दोस्रो बढी प्रभावित मुलुक ब्राजिलमा हालसम्म १३ लाख १३ हजारभन्दा बढी संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या पनि ५७ हजार नाघिसकेको छ । विश्वमा तेस्रो बढी संक्रमित रहेको मुलुक रुसमा ६ लाख ३३ हजार बढी संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या केही कम रहेको छ । रुसमा हालसम्म ९ हजारभन्दा बढी मृत्यु भएको छ । मृत्यु दरका आधारमा बेलायत तेस्रो स्थानमा रहे पनि संक्रमण दर भने बेलायतमा घट्दो छ । बेलायतमा हालसम्म ३ लाख १२ हजार बढी संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ४३ हजार ६ सयभन्दा बढी छ । पछिल्लो समय पेरु, चिली, मेक्सिको लगायतका मुलुकमा संक्रमण तीब्र गतिमा बढिरहेको छ । पछिल्लो ६ दिनमा मात्रै विश्वमा १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्