Politics

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश

Thu May 28

काठमाडौं, जेठ १५ः राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गर्नुभएको छ ।

१३औँ गणतन्त्र दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गर्नुभएको छ ।

सदाकाल स्वाधिन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्‍याउने पूर्वजहरुको योगदानको स्मरण गर्दै उहाँहरुको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिले हार्दिक आह्वान गर्नुभएको छ ।

निकै लामो सङ्क्रमणकालपश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेसमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सम्पूर्ण राजनीतिक दलहरु तथा आमजनतामा उहाँले हार्दिक आह्वानसमेत गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताउनुभएको छ ।

गणतन्त्र दिवस-२०७७ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गर्नुभएको छ ।

गणतन्त्रलाई अझै समृद्ध बनाउनु आवश्यक रहेको भन्दै उपराष्ट्रपतिले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्