News

नागढुङ्गा-मुग्लिन सडक विस्तार हुने

Sat Feb 15

काठमाडौं, फागुन ३: नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ ।

हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो । सडकमा साँघुरा मोड रहेकाले त्यसलाई समेत सुधार गरिने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । सडक विस्तारका क्रममा २१ पुलसमेत निर्माण गरिने भएको छ भने झण्डै १० वटा आकाशेपुल निर्माण गर्ने योजना रहेको छ ।

सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन प्रतिवेदन (इएसआइए) तयार भइसकेको छ । नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्ड रणनीतक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो । विश्व बैंकको ऋण सहयोगमा यो सडकखण्डको विस्तार गर्न लागिएको हो ।

सडक निर्माण भएको पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । सो सडक निर्माणका लागि झण्डै १६ अर्ब रुपैयाको लागत लाग्ने अनुमान गरिएको छ ।

यस सडक विस्तारका लागि तीन वर्ष लाग्ने अनुमान छ । एक वर्षमा खरिद प्रक्रियालगायतका कागजी प्रक्रिया पूरा गर्ने र अर्को वर्षदेखि सडक विस्तार गरिने योजना रहेको विभागले जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्