Politics

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प

Wed Jul 1

काठमाडौं, असार १७ः नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो ।

सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

सरकारले ४२ महिनामा निर्माण सक्ने गरी हाज्मा आङ्लो कर्पाेरेशनलाई निर्माणको जिम्मेवारी दिएको थियो । जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन सो आयोजनामा लामो समयसम्म काम नहुँदा निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएको महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो ।

स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घरघर फर्काइएको प्रमुख थापाले बताउनुभयो । जापानी संस्थाले सरकारको नियमको पालना गर्दा नेपालीलाई पनि घर फर्काएको थियो भने विदेशी कामदार पनि फर्किएका थिए ।

बन्दाबन्दी लागू भएको एक महिनापछि विकास निर्माणलाई निरन्तरता दिइने भने पनि निर्माणस्थलमा काम गर्ने वातावरण नबनेको उहाँले बताउनुभयो ।

निर्माण शुरु भएको पाँच छ महिनाको अवधिमा कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, जनशक्ति ल्याउनेलगायत काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण शुरु गरिसकेको छ । सोही आयोजनाअन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म दुई दशमलव पाँच किमी र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ ।

सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ ।

आयोजना सम्पन्न गर्न रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।- (रासस)

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्