News , Politics

पत्रकारितामा अनुशासन जरुरी-प्रचण्ड

Mon May 27

काठमाडौं,जेठ १३ :नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अराजकता स्वतन्त्रता नभएको बताउँदै स्वतन्त्रता र अनुशासन एक आपसमा जोडिएको बताउनु भएको छ ।  १७ औं कृष्ण सेन स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पत्रकारिता जगतमा विकृति र विसंगति बढ्दै गएको बताउँदै अनुशासित रुपमा स्वतन्त्रताको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  साथै संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था आफूहरुले नै गरेको बताउँदै आवश्यकता अनुसार संविधानमा भएका व्यवस्थालाई संशोधन गर्न सकिने धारणा समेत राख्नुभयो । बहसमा रहेको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावना विपरित कुनै पनि कानुन नबनाइने पनि बताउनु भयो ।  यसै गरी कार्यक्रमलाई संवोधन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयकका विषयमा अनावश्यक हल्ला फिजाएको बताउनु भयो । साथै केही संचार माध्यमले के लेख्न हुने र नहुने भन्ने विचार नगरेको बताउँदै मिडियालाई नियमन गर्न अनिवार्य रहेको र गरेरै छोड्ने बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघ कुनै पनि दलको भातृ संगठन नभएको बताउँदै सरोवालाहरुसँग छलफल समेत नगरी ल्याइएको मिडिया काउन्सिल विधेयकको विरोधमा महासंघ रहेको धारणा राख्नुभयो ।  द्वन्दकालीन समयमा प्रहरी हिरासतमा यातना दिने क्रममा हत्या गरिएका पत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट संचारकर्मी सूर्य थापा पुरस्कृत हुनु भएको छ । यसै गरी पत्रकार तारा न्यौपाने र शक्ति लम्सालको स्मृतिमा स्थापना गरिएको शक्ति तारा स्मृति पुरस्कारबाट पत्रकार चन्द्रमान श्रेष्ठ पुरस्कृत हुनु भएको छ । दुबै पुरस्कारको राशी १० हजार रहेको छ । पुरस्कृत पत्रकार सूर्य थापाले कृष्ण सेन इच्छुकले अध्ययन गरेको प्युठानको भूमि विकास आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका १० हजार पुरस्कारमा १५ हजार थप गरी २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा पत्रकार द्वन्द कालमा मारिएका पत्रकार कृष्ण सेन इच्छुकले कलमका माध्यमले समाज परिवर्तनमा पुर्‍याउनु भएको योगदानको चर्चा गरियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्