Politics

प्रधानमन्त्रीबाट खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको उद्घाटन

Sun Feb 23

काठमाडौं फागुन ११ः प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको उद्घाटन गर्नुभएको छ ।

तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७ दशमलव ५ मेगावाट क्षमताको सो आयोजनाको उहाँले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको हो ।

तेह्रथुमको खोरुङ्गामा निर्माण भएको सो आयोजनाले शनिवारदेखि व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको बताउनुभयो ।

नेपालको जलविद्युत् उत्पादनको इतिहासमा निजी क्षेत्रले गरेको योगदान महत्वपूर्ण छ भन्दै उहाँले समयभन्दा अगावै आयोजना सम्पन्न गरेकामा प्रवद्र्धक कम्पनीलाई धन्यवाद दिनुभयो ।

सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेको उल्लेख गर्दै सबैको सार्थक प्रयासबाट मात्रै सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो । गत माघ २६ गतेदेखि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।

आयोजनाबाट उत्पादन भएको विद्युत् विद्युतगृहदेखि ४ दशमलव ७ किलोमिटर लामो प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरी–खिम्ती सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

सबस्टेशनसम्म आवश्यक पर्ने ३३ केभी क्षमताको प्रसारण लाइन प्रवद्र्धक कम्पनी आफैँले निर्माण गरेको छ । स्थानीय खोरुङ्गाखोलाको पानी इवाखोलामा झारेर विद्युत्गृहमा पठाई विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ ।

आयोजनाको प्रतिमेगावाट लागत करिब १७ करोड ६० लाख रुपैया रहेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्