Business

बरमझियाका पेडा व्यवसाय सङ्कटमा

Wed May 13

काठमाडौं, वैशाख ३१ः कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण नेपालकै प्रसिद्ध मानिने सप्तरीको बरमझियास्थित पेडा व्यवसाय यतिबेला सङ्कटमा परेको छ ।

नेपालमै पेडाका लागि प्रसिद्ध सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा ४० देखि ५० भन्दा बढी पेडा पसल सञ्चालनमा छन् । लकडाउनका कारण पेडा बनाउनका लागि आवश्यक पर्ने भैँसीको दूध र चिनी तथा दाउरा मागबमोजिमको आपूर्ति हुन नसक्दा व्यवसाय सञ्चालन गर्न समस्या भएको पेडा व्यापारीको गुनासो छ ।

लगातारको लकडाउनले पेडाको व्यापार गर्नेहरुको पेशा मात्रै सङ्कटमा परेको छैन, पेडा व्यवसाय नै सङ्कटमा परेको व्यवसायी राजकुमार गुप्ताले बताउनुभयो । दूध, दाउरा र चिनीको कमीका साथै पसलमा काम गर्ने कर्मचारीसमेत अभाव भएको गुप्ताको भनाइ छ । उहाँले आफनो पसलमा काम गर्ने तीन कर्मचारी रहेको र लकडाउनले गर्दा डेढ महिनादेखि पेडा पसल बन्द हुँदा उनीहरुलाई खाना खुवाउने पैसासमेत सकिएको गुनासो गर्नुभयो ।

त्यस्तै विगत १३ वर्षदेखि बरमझियामा पेडाको पसल सञ्चालन गरेर बस्नुभएका पुरानो बूढोबाजे पेडा पसल सञ्चालक राजेन्द्र साहले रु छ लाख ऋण काढेर पसल सञ्चालन गरेकामा पहिला दैनिक तीन-चार हजारको व्यापार हुन्थ्यो, लकडाउनपछि पेडाको व्यापार चौपट भएको बताउनुभयो ।

अहिले बरमिझयामा ४० देखि ५० भन्दा बढी पेडा पसल सञ्चालनमा रहका छन् । करिब ८० वर्षको लामो इतिहास बोकेको पेडा व्यवसायको शुरुआत वैद्यनाथ साहले गर्नुभएको थियो । अहिले देखासिखी गर्दै सोही मिल्दोजुल्दो नामका करिब ४० देखि ५० पेडा पसल सञ्चालनमा रहेका छन् ।

दशैँदेखि छठसम्म पेडाको माग अत्यधिक हुने र यो समयमा व्यापार पनि राम्रो हुने गरेको व्यवसायीहरुले बताएका छन् । यहाँको पेडा अहिले प्रतिकिलो रु ७०० देखि ८५० सम्म पर्छ । प्रतिस्पर्धा बढिरहे पनि बरमझियाको पेडाको आकर्षण घटेको छैन । हरेक वर्ष बजार बढ्दै गएको अवस्थामा पेडा व्यवसायले बरमझियालाई काम, दाम र नाम सबै दिएको स्थानीयवासीको भनाइ छ ।

राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा समेत लोकप्रिय रहेको बरमझियाको पेडाको गुणस्तर र तौलमा शुद्धता प्रमुख चुनौती रहेकाले पेडा व्यवसायीको समस्या समाधान हुनुपर्ने व्यवसायीले माग गरेका छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको बरमझियाको पेडा पसलमा चाडपर्वका बेला राजमार्गमा सवारी साधन र मानिसको आवतजावत बढी हुन्छ । यात्रीसमेत पेडा चाख्न र कोसेलीका रुपमा आफन्तलाई पेडा नै लगिदिन चाहन्छन् । त्यही भएर चाडपर्वका बेला पेडाको माग अत्यधिक हुने गर्छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्