Politics

बूढानीलकण्ठमा दुई जनामा कोरोना संक्रमण पुष्टि

Mon May 25

काठमाडौं, जेठ १२ः बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परीक्षणका क्रममा नगरपालिकाको ३ नम्वर वडा स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको नगरपालिकाका मेयर उद्धव खरेलले जानकारी दिनुभयो । कोरोना पुष्टि भएसँगै उनलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशन वार्डमा राखिएको बताइएको छ ।

संक्रमण पुष्टि भएका व्यक्तिले लकडाउनका समयमा निःशुल्क सेवा दिने उद्धेश्यले आफ्नै निजी कारमा एम्बुलेन्स सेवा समेत दिइरहेकोले उनको सम्पर्कमा को को आएमा थिए भन्ने कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको पनि मेयर खरेलले जानकारी दिनुभयो । जानकारीमा आए अनुसार संक्रमित व्यक्तिले नगरपालिका क्षेत्र भित्र रहेका अनाथ वाल केन्द्रहरुमा खाना र खाजा समेत पुर्याउने गरेका थिए ।  नगरपालिकाले २ र ३ नम्वर वडामा सञ्चालित तरकारी र किराना पसले तथा राहत वितरणमा सहभागीहरुको द्रूत परीक्षण जाँच आरडिटी गरेको थियो । पहिलो चरणमा गरिएको आरडिटीको पिसिआर परीक्षणको नतिजा आएको र अब मंगलवार सम्ममा दोस्रो चरणको पनि नतिजा आउने मेयर खरेलको भनाइ छ । दोस्रो चरणमा पनि ११ जनामा आरडिटी पोजेटिभ देखिएको थियो ।

सोमवार नयाँ संक्रमित पुष्टि भएसंगै बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ कपन तेञ्जिङ चोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।  कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।।

त्यस्तै नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौँ आएका १२  पुरुषलाई नगरपालिका–७ स्थित  छहारी भवनको क्वारेन्टाइनमा राखेको थियो । ती पुरुषको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले जानकारी दिनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्