News , Politics

राष्ट्र सेवामा जुट्न युवाहरूलाई प्रधानमन्त्रीको आह्वान

Sat Feb 15

काठमाडौं, फागुन ३: प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा उत्पादन राष्ट्रको आवश्यकता र प्राथमिकता रहेको बताउनुभएको छ ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५ औँ सिनियर डिभिजन समूहको दीक्षान्त समारोहलाई सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युवाको चौतर्फी व्यक्तित्व विकासमा सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न प्रधानमन्त्रीले  युवाहरूलाई आह्वान समेत गर्नुभयो । हरेक युवाले समाज र राष्ट्रको विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु हुँदै उहाँले युवालाई अध्ययन, रोजगारी र व्यक्तित्व विकास गर्न सरकारले अनुकूल वातावरण बनाउने प्रयास अघि बढाइरहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरलले उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रछात्रालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । समारोहमा विभिन्न विद्यालयका प्राचार्यहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सेवा दलका छात्रछात्राले खुकुरी ड्रिल र तेक्वान्दो प्रस्तुत गरेका थिए । मुलुकमा नैतिकवान, क्षमतावान र देशभक्ति युवा तयार गर्ने उद्देश्यले स्थापना भएको सेवा दलबाट हालसम्म ५१ हजार ३३२ जना छात्रछात्राले यो तालिम पूरा गरिसकेका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्