Featured

संविधान संसोधन विधेयक प्रतिनिधिसभामा पेश गर्ने कार्यक्रम स्थगित

Wed May 27

काठमाडौं, जेठ १४ः संविधान संसोधन विधेयक प्रतिनिधि सभामा आज पेश गर्ने कार्यक्रम स्थगित गरिएको छ । राजनीतिक दलहरुले राष्ट्रिय सहमतिका लागि केही दिन छलफल गरेर पेश गर्न सरकारलाई आग्रह गरेकाले आज विधेयक पेश गर्ने कार्यक्रम स्थगित गरिएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

सरकारले देशको अद्यावधिक नक्सा जारी गरेपछि सोही अनुसार संविधानमा आवश्यक संसोधनको तयारी भैरहेको छ । प्रतिनिधि सभाको आजको बैठकले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले प्रस्तुत गर्नुभएको विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो । बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

त्यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।

बैठकले संसदको प्रभावकारिता बृद्दि गर्ने उद्देस्यले गत साउनमा गठन गरिएको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद चालु छैठौं अधिवेसन भरिका लागि थप गरेको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले प्रश्तुत गर्नुभएको म्याद थप सम्बन्धी प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो । बैठकको शुन्य समयमा सांसदहरुले रुकुम चौरजहारीमा भएको घटनाका दोषीलाई कार्वाही गर्नुपर्ने तथा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेन्टाइनको स्तर सुधार गर्नुपर्ने लगाएतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधि सभाको बैठक भोलि बजेट प्रश्तुतिपछि बस्ने कार्यक्रम छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्