Politics

सरकारको निर्देशन अक्षरशः पालना गर्न मुख्यमन्त्री राउतको आग्रह

Tue Mar 24

काठमाडौं, चैत्र ११ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले जारी गरेको लकडाउनको निर्देशन अक्षरशः पालना गर्न प्रदेशवासीलाई आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले आज एक विज्ञप्ति जारी गर्दै महामारी विरुद्ध लड्न सङ्घीय सरकारले जारी गरेको निर्देशनमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको भन्दै तिनलाई पालना गर्न प्रदेशवासीलाई आग्रह गर्नुभएको हो ।

तीनै तहको सरकार र सर्वसाधारणको एकता नै महामारी विरुद्धको बलियो हतियार रहेको भन्दै उहाँले लकडाउनलाई पुर्णतः समर्थन गर्नसमेत आग्रह गर्नुभयो । उहाँले महामारी विरुद्ध लड्न प्रदेश सरकारले गत सातादेखि नै आफ्ना पूर्वतयारी शुरु गरिसकेको हुँदा यस महाविपतको घडीमा कसैलाई नआत्तिनसमेत आग्रह गर्नुभयो ।

उहाँले महामारी विरुद्धको पूर्वतयारीका लागि प्रदेशमा २५० आइसोलेशन शय्या तयारी अवस्थामा रहेको र थप आइसोलेशन शय्याका लागि गृहकार्य भइरहेको विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

महामारीको हल्ला सुनिएलगतै प्रदेश सरकारले पूर्वतयारीका लागि विपद् व्यवपस्थापन कोषमार्फत प्रत्येक जिल्लाको विपद् व्यस्थापन कोषलाई रु ५०/५० लाख, नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई रु २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई रु २० लाख, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई रु पाँच लाख उपलब्ध गराइसकेको छ ।

उहाँले महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परे प्रदेश सरकार तयारी अवस्थामा रहेको समेत जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले कोरोनाको महामारीसँग लड्न विभिन्न तयारी गरे पनि उपकरणहरूको अभाव झेलिरहेको अवस्थामा यस महामारी विरुद्धको प्रादेशिक तयारीलाई थप प्रभावकारी बनाउन आवश्यक प्रोफेशनल प्रोटेक्टिभ इक्युपमेन्ट, एन ९५ मास्क, थर्मल गन र भेन्टिलेटरको व्यवस्था मिलाइदिन सङ्घीय सरकारसँग मागसमेत गर्नुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्