News , Province

सिन्धुपाल्ञ्चोकमा देखिएको भाइरल कोरोना होइन: स्वास्थ्य मन्त्रालय

Thu Feb 13

काठमाडौं, फागुन १: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्ञ्चोकको जुगल गाउँपालिका–४ गुम्बा गाउँमा स्वास्थ्य टोली खटाएको छ । सो गाउँका स्थानीयमा रुघाखोकी र ज्वरोसहितको लक्षण देखिन थालेपछि मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य टोली खटाएको हो । प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने घाँटीको स्रावको नमूना सङ्कलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट एक जना ल्याब टेक्निसियन भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) सहित टोली प्रभावित क्षेत्रमा खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल गुम्बा गाउँमा मेडिकल अधिकृतसहित पाँच जना स्वास्थ्यकर्मीको टोली पुगी स्वास्थ्यसेवा प्रदान गरिरहेका छन् । यसैगरी बुधवार बिहान मात्र स्वास्थ्य कार्यालय, सिन्धुपाञ्चोकको समन्वयमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रबाट आवश्यक औषधिसहित गुम्बा गाउँ पठाइएका मेडिकल अधिकृत एक जना, अनमी एक जनाले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार बुधवार बिहानसम्म रुघाखोकीको लक्षण भएका १७० जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको र सामान्य रुघाखोकीको लक्षण मात्र रहेको छ । यसअघि चौतारा अस्पतालबाट दुई जना मेडिकल अधिकृतसहित चार जनाको स्वास्थ्यकर्मीको टोली खटाइसकेको छ । यसैबीच सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताउनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्