विदेशमा रहेका नेपालीहरुलाई ल्याउन सरकारले ध्यान दिएनः नेपाली कांग्रेस

काठमाडौं, जेठ, ११ः मुलुकमा दिनप्रति दिन बढ्दै गएको कोरोना संक्रमणलाई न्यूनिकरण गर्न उपचारको दायरा बढाउनु पर्ने र सीमामा रहेका नेपालीहरुको स्वास्थ्य परिक्षण गरी नेपाल प्रवेश गराई उचित क्वारेन्टाईनको ब्यवस्थामा सरकारले ध्यान नदिएको निष्कर्ष नेपाली काँग्रेसले गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आज बसेको पदाधिकारी बैठकमा सबिधान संशोधनका बिषयमा केन्द्रिय समितिको बैठक बोलाएर निर्ण गर्ने समेत बैठकमा छलफल भएको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो ।

बैठकमा सभापति शेरबहादेर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधी, प्रकाशमान सिंह लगायतको सहभागिता रहेका थिए ।-

प्रहरीद्वारा ५० बोरा गुट्खा बरामद

काठमाडौं, जेठ ११ः कठमाडौँबाट सप्तरीको राजविराज जाँदै गरेको एक ट्रकबाट ५० बोरा गुटखा प्रहरीले आज बरामद गरेको छ ।

अत्यावश्यक औषधि ढुवानी लेखिएका ट्रकमा जाँच गर्दा रु १८ लाख मूल्य बराबरको गुटखा बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रहरी निरीक्षक अरुण कुसवाहले पशुपति ट्रान्सपोर्टले काठमाडौंबाट सप्तरीको राजविराजका लागि पठाएको सो ट्रकबाट गुटखा बरामद भएको जानकारी दिनुभयो ।

केही मात्रामा औषधिजन्य वस्तु मात्र रहेको उक्त ट्रकमा अत्यधिक मात्रामा चकलेट र मोबाइलको इलेक्ट्रोनिक पार्टसहरु रहेको प्रहरीले जनाएको छ । बरामद भएका वस्तुसहित ट्रकलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ ।-

आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम धमाधम

काठमाडौं, जेठ ११ः सरकारले कोरोनाको महामारी रोक्न लकडाउन गरेको आज ठ्याक्कै ६२ दिन भयो । मुलुकको सम्पूर्ण आर्थिक क्रियाकलाप प्राय ठप्प छ । नागरिक घरभित्रै छन् ।

पेशा व्यवसायमा समेत कोरोनाले कहर निम्त्याइदिएको छ । देशभित्र पनि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना कहरका बीचमा पनि घरभित्र रहेका नेपाली नागरिकलाई आशाको सञ्चार भर्ने केही काम भने नियमित भइरहेका छन् ।

विपद्सँग जुध्दै भएका कामले नेपाली नागरिकलाई एकखालको आत्मविश्वास भरिदिएको छ । त्यसले सरकारी निकाय काममा छन् र उनीहरुले नेपाली जनतालाई लकडाउनमा पनि विश्वास भर्न अभिप्रेरित छन् भन्ने देखाएको छ ।

लाखौँ नेपालीको आशा र भरोसाको केन्द्रविन्दुमा रहेको माथिल्लो तामाकोशीले लकडाउनमा दिएको सन्देश घरभित्रै बस्न बाध्य भएका नेपालीलाई हर्षित तुल्याउने खालको छ ।

आयोजनामा लगानी गर्ने शेयरधनीको सङ्ख्या १० लाख बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो ।

कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखिएको छ ।

यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करिब रु पाँच करोड बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो । विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको छ ।

देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण स्थान राख्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम यतिखेर पनि जारी छ । लकडाउनमा पनि काम भइरहेको छ ? हो, आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम धमाधम भइरहेको छ ।

मन्त्रिपरिषद्को गत वैशाख २४ गतेको निर्णयपछि त झन् आयोजनालाई थप सहज भएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति भएको छ ।

कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी ६० मिटर मात्रै छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ ।

पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी असारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सम्पन्न हुनेछ ।

तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरिरहेको छ । यस्तै कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले पनि लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ ।

प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २५० मिटरमा पाइप जडान भइसकेको छ । अब सो सुरुङमा मात्रै ६० मिटर पाइप जडान गर्न बाँकी छ ।

सोमबार र मङ्गलबार पनि पाइप जडान गर्ने कार्यतालिका रहेकाले अब ५४ मिटरमा झर्नेछ । पाइप जडानको काम प्रभावकारीरूपमा अगाडि बढेको र एउटा पाइप जडानका लागि पाँच कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएकाले आगामी असारको पहिलो सातासम्म सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान सकिने प्रवक्ता डा न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै आयोजनाको सुरुङको तेर्सो स्थानमा जडान हुने केही पाइपको पनि जडानको काम अगाडि बढ्नेछ भने घुमेको पाइप जडानको काममा समेत गति दिने तयारी गरिएको छ । यस्तै सुरुङमा क्रङ्क्रिट लाइनिङ र ग्राउटिङको कामसमेत भइरहेको छ । केही सामान भने भारतीय ठेकेदार कम्पनी टेक्सम्याको कारखानामा रहेका कारण लकडाउनका कारण आयात गर्न समस्या परेको छ ।

प्रवक्ता न्यौपानेले सिमेन्ट र की अत्यावश्यक सामग्री आयातका लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिएको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीको प्रबन्ध गरिदिनुभएकाले पनि थप सहजता पैदा भएको छ ।

आयोजनाले यसअघि केही अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आपूर्ति गरेको थियो । आयोजनास्थलमा लकडाउनको समयमा समेत झण्डै ६५० श्रमिक हाल पनि कार्यरत छन् ।- (रासस)

पिसिआर रिपोर्ट नेेगेटिभ आएपछि स्थानीय ढुक्क

मुगु, जेठ ११ः कोभिड १९ को संक्रमण हुनसक्ने संभावित ३ सय ५७ जनाको स्वाब संकलनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मुगुका जनतामा उत्साह छाएको छ ।

तीन गाँउपालिका र एक नगरपालिकाभित्र कोरोना नियन्त्रण र सुरक्षाका लागि खटिने स्वास्थ्य तथा सुरक्षाकर्मी र रिपोर्टिङका लागि खटिने संचारकर्मीसहित बाहिरबाट आएका कतिपय शंकास्पद व्यक्तिहरुको समेत स्वाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

११ जनाको सुर्खेतमा र ३ सय ४६ जनाको जुम्लामा परिक्षणपछि सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि स्थानीयहरु ढुक्क भएका हुन् ।-

लिपुलेक क्षेत्र नेपालकै होः विज्ञ

काठमाडौं जेठ ११ः विश्वको नक्सामा नेपालको मानचित्रको आकार बदलिएको छ । दार्चुलाको कालीपूर्वका लिम्पियाधुरा कालापानी लिपुलेक क्षेत्र समेटेर सरकारले नेपालको नयाँ राजनितिक र प्रशासनिक नक्सा जारी गरेको छ । यसअघिका कतिपय पूराना नक्सामा लिम्पियाधुरा कालापानी लिपुलेक क्षेत्र समेटिएको हामीसंग थुप्रै प्रमाणहरु छन् । यिनै यथेष्ट प्रमाणको आधारमा नक्सा जारी भएसंगै नेपालको क्षेत्रफल पनि बढेको छ र नक्सा पनि बदलिएको छ ।

अध्यावधिक गरिएको नक्सा आएसंगै यस विषयमा विवाद पनि उत्पन्न भएको छ । तर कुटनितिक सम्वादबाट सीमा विवाद समाधान हुने कुरामा नेपाल विश्वस्त पनि छ । विभिन्न नेपाली सीमा विज्ञहरु पनि अहिले समावेश गरिएका क्षेत्र नेपालकै भएको दाबी गर्नुहुन्छ । नेपाल भारतवीच भएको सन्धि सम्झौता अनुसारको नक्सा भएकोले सो क्षेत्र नेपालको हो भन्नेमा तथ्य र प्रमाण हामीसंग प्रयाप्त छन्  । यसमा नेपाल अडिक रहनुपर्ने सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउनुहुन्छ ।

नेपालले एकतर्फी नक्सा जारी गरेर भारतको सार्वभौमिकतामा असर पर्यो भन्ने कुरा भारतीय पक्षबाट आईरहँदा भारतले पनि २०१९ मा एकपक्षीय रुपमा नै नक्सा जारी गरेको बताउनुहुदै  सीमाविद् श्रेष्ठ नेपाललाई मात्रै दोष लगाउनु राम्रो नभएको तर्क गर्नुहुन्छ  । दुबै देश वार्तामा बसेर समस्याको समाधान गर्नुपर्ने सीमाविद् श्रेष्ठको सुझाव छ ।

नेपालले जनगणना र मतदान दुबै गराएको छः भैरव रिसाल 

२०१८ सालमा लिप्पियाधुरा क्षेत्रको जनगणनामा संलग्न तथ्याङक अधिकृतको रुपमा काम गर्नुभएका वरिष्ठ पत्रकार भैरव रिसाल पनि सो अहिले नक्सामा समाहित क्षेत्र नेपालकै भएको दावी गर्नुहुन्छ । ९ जना खरिदार सहित आफू सो क्षेत्रमा गएको र त्यहाँका नेपालीहरुको तथ्याङक संकलन गरिएको र उनीहरु मतदानमा पनि सहभागी भएको बताउनुहुन्छ ।

त्यसबखत आफूले गरेको काम अहिले प्रमाण भएकोमा आफूलाई गर्व लागेको बताउदै रिसालले नेपालले आफ्नो नक्सा अध्यावधिक गरेकोमा सरकारलाई पनि बधाई दिनुभएको छ ।

कालीपूर्वको जग्गा नेपालकै भएको बताउनुहुदै शान्त कुटनीतिबाट यो समस्या समाधान गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

सन २०१६ मार्च ४ मा नेपाल सरकार र तत्कालिन ईष्ट ईण्डिया कम्पनीबीच भएको सुगौली सन्धि र सन १८१६ डिसेम्बरको पुरक सन्धिलाई नै समेटिएका ती भूभागहरु नेपालको भएको प्रमुख प्रमाणका रुपमा सरकारले प्रस्तुत गरेको छ । कालीनदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्सा तयार गरी प्रचलनमा ल्याईएको हो ।।

इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान

काठमाडौं, जेठ ११ः इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ ।

विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई दिइएको हो । उहाँ यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत हुनुहुन्छ ।

राजदूत शाक्यले यो सम्मानलाई आफूले नेपाल र नेपालीप्रतिको सम्मानका रूपमा लिएको भन्दै यसले नेपाल र नेपालीको शिर उच्च बनाएको बताउनुभयो ।

विसं २०७५ फागुन ३ गते राजदूत नियुक्त शाक्यले कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन काम गर्दै आउनुभएको छ । कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकूल अवस्थामा पनि सबै देशका राजदूत कार्यक्रममा सहभागी हुनु भएकामा धन्यवाद दिनुभएको थियो ।

केही दिनअघि मात्रै राजदूत शाक्यको पहलमा नेपाल–इजरायल चेम्बर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देशबीच व्यापार–व्यवसाय आदान–प्रदान गर्नेसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, ऊर्जा आदि क्षेत्रमा व्यापार–व्यवसाय गर्ने गरी सम्झौता भएको थियो ।

शाक्यले राजदूतको पदभार लिनुअघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टाइन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया समुद्री तटमा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होडिङबोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो । पछि शाक्यको पहलमा त्यसलाई सच्याइएको थियो । फेरिएको होडिङबोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झण्डा नेपालको राखिएको छ ।-

सञ्चयकोषले संचालन गरेको विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने व्यवस्था

काठमाडौं, जेठ ११ः कर्मचारी सञ्चय कोषले संचालन गरेका सेवामध्ये विशेष सापटी सेवा हाललाई अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।

कोभिड-१९ का कारण कोषका सेवा बन्द भएपछि भोलि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा भने सञ्चालन गर्ने तयारी गरिएको कोषले जनाएको छ ।

कोषका अनुसार हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन । त्यसका लागि सञ्चयकर्ताले कोषको वेबसाइटमा गएर अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।

कोषले सो आवेदन फारामलाई रुजु गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । यसैबीच कोषले लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयहरुमार्फत अन्य सेवाप्रवाह हुने गरी तयारी गरिएको जनाएको छ ।-

बायर्न चार अंकको अग्रता सहित शिर्ष स्थानमा

काठमाडौं, जेठ ११ः जर्मन बुन्डेशलिगा फुटबल प्रतियोगिताको साविकको विजेता बायर्न म्युनिखले जारी लिगको शिर्ष स्थानमा आफूलाई कायमै राखेको छ ।

लिग अन्तरगत गएराती भएको खेलमा फ्रयाङ्फर्ट क्लवलाई ५-२ गोल अन्तरले पराजित गर्दै बायर्न अंक तालिकाको शिर्ष स्थानमा यथावत रहेको हो ।

यो जितले बायर्नलाई अंक तालिकामा प्रतिस्पर्धी बोरुसिया डर्टमण्डसंग स्पष्ट चार अंकको दूरी कायमै राख्न मद्धत गरेको छ । बोरुसिया डर्टमण्डले पनि गएराती नै भएको अर्को खेलमा उल्फ्सवर्गलाई २-० गोल अन्तरले पराजित गरेको छ । अंक तालिकामा बायर्नको ६१ अंक छ भने डर्टमण्डले ५७ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको लेभरकुसिनको ५३ अंक छ ।

कोरोनाभाइरसको महामारी कारण दुई महिना स्थगित भएर शुरु भएको लिगमा हिजो पाँच वटा खेल भएका थिए ।

दर्शकविनाका रंगशालामा खेलाइएका खेलहरुमा खेलाडीको हौसलाका लागि खाली सिटमा प्लास्टिले बनाइएका मानिसका आकृतिहरुलाई टाँसेर दर्शक जस्तै बनाइएको थियो ।।

स्याङजाको आँधिखोला गाउँपालिकामा सामुहिक बेमौसमी आलु खेती सुरु

स्याङ्जा, जेठ ११ः माटो परीक्षण गरेर माटो सुहाउँदो बाली अन्तर्गत स्याङजाको आँधिखोला गाउँपालिकामा सामुहिक बेमौसमी आलु खेती सुरु गरिएको छ ।

यहाँको वडा नं १ मा रहेको बाँझो जमिनलाइ सदुपयोग गदै पहिलो चरणमा ९० रोपनी श्रेत्रफलमा ४५०० केजी आलर लगाएपछि शहर केन्द्रित भएका जनशक्ति गाउँतर्फ आकर्षीत हुन थालेका हुन् । माटो सप्तहा कार्यक्रमको आयोजना गरेर बिभिन्न स्थानको माटो परीक्षण भएपछि कृषी कर्ममा रमाउने कृषकको संख्या बढेको हो ।

१५ बर्ष अगाडी भकिम्लेको आलु भनेर प्रसिद्धी कमाएको यस श्रेत्रको जमिन बाँझो भएपछी पुनः यस क्षेत्रलाइ आलुकै नामबाट परिचित गराउन यो अभियान शुरु गरीएको हो ।

अहिले आँधिखोला १ देउराली भकिम्ले , दत्तेलोटे त्रिबेणी लगाएत ५४ .घरधुरीका कृषक सामुहीक बेमौसमी आलु खेती तर्फ आकर्षित भएका छन् । पहिलो चरणमा बाँझो रहेको ९० रोपनी क्षेत्रफलमा ४५०० केजी आलुको बीउ पालिकाले उपलब्ध गराएको थियो ।

देशकै पहिलो ग्रमीण पर्यटकीय क्षेत्रअन्तर्गत होमस्टे संचालनमा आएको सिरुबारीमा यो आलु खपत हुने र यस क्षेत्रलाइ पकेट क्षेत्र निर्माण गर्न सकिने आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधीर कुमार पौडेलको भनाइ छ ।-

संक्रमणबाट सम्हालिदै न्यूयोर्क; १०९ दिन पछि घट्यो मृत्यु दर

काठमाडौं, जेठ ११ः कोभिड-१९ महामारीका कारण एकै दिन हजार जना भन्दा बढीको मृत्यु हुनेगरेको अमेरिकाको न्यूयोर्कमा भाइरस संक्रमित र मृत्यु हुनेको संख्यामा निकै कमि आएको छ ।

दुई महिना अघी पहिलो संक्रमित भेटिए यता पहिलोपटक न्यूयोर्कमा दैनिक मृत्यु हुनेको संख्या एक शय भन्दा तल झरेको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार गएको २४ घण्टामा त्यहाँ ८४ जनाले मात्रै ज्यान गुमाएका छन् । संक्रमणको १०९ दिनमा न्यूयोर्कमा २८ हजार जना भन्दाको मृत्यु भइसकेको छ ।

तर विगतको तुलनामा न्यूयोर्क शहर सम्हालिदै गएको त्यहाँका गभर्नरले बताउनुभएको छ । अझैपनि धेरैको ज्यान गइरहेको तर न्यूयोर्क अब विस्तारै संक्रमणमुक्त हुने बाटोमा रहेको राज्यका गभर्नरको भनाइ छ । मृत्युहुनेको संख्या घटेसंगै त्यहाँ आवश्यक परेमा १० जना सम्मको समूहमा भेला हुन अनुमति दिइएको छ ।

कोरोना महामारीबाट अमेरिकामा विश्वमै धेरै ९८ हजारको मृत्यु भएको छ । त्यहाँ  झण्डै साढे १६ लाख मानिसहरु संक्रमित भएका छन् ।

भाइरसको संक्रमणबाट बेलायतमा दोस्रो धेरै संख्यामा मानवीय क्षति भएको छ । त्यहाँ ३६ हजार ७ शय भन्दा बढीको मृत्यु भएको छ भने २ लाख ५८ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

इटलीमा ३२ हजार ७ शय बढीको ज्यान गइसकेको छ भने स्पेन र फ्रान्समा २८ हजार बढीको मृत्यु भएको छ । यूरोपमा पनि भाइरसको प्रभाव घट्दै गइरहेको छ ।

तर दक्षिण अमेरिकी मुलुकहरुमा भने भाइरसको प्रभाव बलियो देखिएको छ । ब्रजिलमा ३ लाख ३० हजार बढी संक्रमित छन् भने २१ हजार जनाको मृत्यु भइसकेको छ । पेरु र इक्वेडरमा पनि ३ हजार जना भन्दा बढीको मृत्यु भएको छ ।

विश्वभरी ३ लाख ४३ हजार बढीको मृत्यु भएको छ भने २२ लाख ४४ हजारलाई भने निको भएको छ ।

यसैबीच थाइल्याण्डमा कोभिड-१९ विरुद्धको खोपको बाँदरमा परीक्षण गरिएको छ । थाइ वैज्ञानिकहरुले १३ वटा लामो पुच्छर भएका मकाक बाँदरमा खोपको परीक्षण गरेका छन् । तीन महिनाको फरकमा दुई पटक खोप दिएर त्यसको परीक्षण गरिने अनुसन्धानकर्ता बैज्ञानिकहरुले बताएका छन् ।।

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्